काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को वानडे सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाल ९९ रनले पराजित भएको छ । जारी सिरिजमा यूएईविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । श्रृंखलाको दोस्रो खेलमा नेपाल यूएईसँग नै ४८ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । एकदिवसीय क्रिकेटमा नेपालको यो हालसम्मकै कम स्कोर हो । यसअघि यो प्रारूपमा नेपालले २०१९ मा यूएईविरुद्ध नै ११३ रन बनाएको थियो ।
तेस्रो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३०, आरिफ शेख, सोमपाल कामीले १५/१५ र विनोद भण्डारीले १२ रन बनाए । करण केसी (४), कुशल भुर्तेल (चार), पवन सर्राफ (२), रोहितकुमार पौडेल (९) दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने (०) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
यूएईका जुनैद सिद्धिकीले चार, अहमद राजा, आशिफ दाउदले दुई/दुई र बसिल हमीदले एक विकेट हात पारे । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।
उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए । त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई/दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।
विश्वकप लिग–२ मा नेपालको यो छैटौं हार हो । प्रतियोगितामा अहिलेसम्म ११ म्याच खेल्दा पाँच खेलमा जित हात पारेको नेपाल अंक तालिकाको छैटौं स्थानमै छ । यूएई भने तालिकाको दोस्रो स्थानमा छ । उसले १८ मध्ये १० खेलमा जित निकालेको छ ।
नेपाल हारको केही कारण
तेस्रो खेलमा पनि नेपाल हारको मुख्य कारण कमजोर ब्याटिङ नै रह्यो । सम्हालिएर खेल्न चुक्दा आजको खेल पनि नेपालले गुमाएको हो । साथै, नेपालले पावरप्लेमा विकेट लिन सकेन । यूएईका बलरले सुरुवाती १० ओभर पूरा सदुपयोग गर्न सके ।
साथै, डेथ ओभरमा पनि नेपाल किफायती बलिङ गर्न पनि चुक्यो । त्यस्तै, तेस्रो खेलमा नेपाल हारको कारण खराब फिल्डिङ र टस जितेर बलिङ रोज्नु पनि रह्यो । यसका अलावा कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पपुदु दशानायके उत्कृष्ट प्लेइङ–११ छनोटमा पनि चुकेको अनुभूति भयो । त्यस्तै, सन्दीपको कप्तानी पनि सन्तोषजनक रहन सकेन ।
















