यूएईविरुद्ध नेपालले इतिहासकै खराब ब्याटिङ गरेपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ को वानडे सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाल फेरि पराजित भएको छ । नेपाल सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा सोमबार यूएईविरुद्ध ९९ रनले पराजित भएको हो । श्रृंखलाको दोस्रो खेलमा नेपाल यूएईसँग नै ४८ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । एकदिवसीय क्रिकेटमा नेपालको यो हालसम्मकै कम स्कोर हो । यसअघि यो प्रारूपमा नेपालले २०१९ मा यूएईविरुद्ध नै ११३ रन बनाएको थियो ।

तेस्रो म्याचमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३०, आरिफ शेख, सोमपाल कामीले १५/१५ र विनोद भण्डारीले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

यूएईका जुनैद सिद्धिकीले चार, अहमद राजा, आशिफ दाउदले दुई/दुई र बसिल हमीदले एक विकेट हात पारे । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।

उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए । त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई/दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।

विश्वकप लिग–२ मा नेपालको यो छैटौं हार हो । प्रतियोगितामा अहिलेसम्म ११ म्याच खेल्दा पाँच खेलमा जित हात पारेको नेपाल अंक तालिकाको छैटौं स्थानमै छ । यूएई भने तालिकाको दोस्रो स्थानमा छ । उसले १८ मध्ये १० खेलमा जित निकालेको छ ।

हारपछि के भन्छन् सन्दीप?

सन्दीपले यूएईसँगको आजको खेल हार्नुको कारण कमजोर ब्याटिङलाई लिएका छन् । उनले सुरुवाती विकेट जानेबित्तिकै दबाब थेग्न नसक्दा पराजित हुन पुगेको बताएका हुन् ।

‘एक/दुई विकेट जानेबित्तिकै रन बनाउनुका लागि हामी हतारिरहेका छौं–आत्तिरहेका छौं । लामो समयपछि हामीहरूले यस्तो विकेटमा ब्याटिङ गर्न पाउँछौं । हामी प्रोसेसमा तलमाथि भइरहेका छौं जस्तो लाग्छ,’ म्याच सकिएपछि सञ्चारकर्मीसँग सन्दीपले भने, ‘हामीले जानीजानी चाहिँ गल्ती गरिरहेका छैनौ. । तर, अब यो भइरहेको छ । हामीले जति छिटो कन्डिसन बुझ्न सक्यौं, त्यति छिटो नै रिजल्ट पनि निस्किन्छ ।’

उनले धैर्य भएर नखेल्दा आफूहरू चुकिरहेको पनि बताए । ‘धैर्य भएर खेल्ने विकासको अझै कमी छ । बलिङमा कुनै इस्यु छैन । ब्याटिङमा चाहिँ हामी कमजोर देखिएका छौं,’ सन्दीपले भने । टिमभित्र पछिल्लो समय खेलाडीबीच प्रतिस्पर्धाको भावना कम छ रे भन्ने सुनिएको छ खासमा केहो? यो प्रश्नमा सन्दीपले भने, ‘टिममा कहिलेकाहीँ फाइटिङ पनि नदेखिएको हुनसक्छ । सबैजना एक सय प्रतिशत नै दिन खोजिरहेका हुन्छौ. । तर, कहिलेकाहीँ चुकिरहेका हुनसक्छौं ।’

उनले टिमभित्रको वातावरण राम्रो नै रहेको पनि उल्लेख गरे ।