५८ दलले बुझाए जिल्लास्तरको संगठन संरचना

Image

काठमाडौं ।

विभिन्न ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना र जिल्ला समितिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त बाहेकका दललाई जिल्लागत संगठन सरचना र जिल्ला समितिको विवरण बुझाउन ६ चैतसम्मको समय दिएको थियो ।

निर्धारित मितिसम्म ५८ दलले विवरण बुझाएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । तर, कुन दलको कुन कुन जिल्लामा संगठन संरचना र जिल्ला समिति छ भन्नेबारे भने आयोगले खुलाएको छैन । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यताप्राप्त बाहेक अरु दललाई सम्बन्धित दलकै चुनाव चिह्न दिन जिल्लागत विवरण माग गरेको थियो ।

प्रवक्ता पौडेलले जिल्ला निर्वाचन कार्यालयबाट दलहरुको विवरण आउने क्रम जारी रहेको बताए । उनका अनुसार ५८ वटा दलको विवरण र ती दलले जिल्लामा बुझाएको विवरण भिडाउँदा मेल खाएमा ती दललाई सम्बन्धित जिल्लाको स्थानीय तहको चुनाव चिह्न प्रदान गरिनेछ ।जिल्ला समिति नभएका दलले भने स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।