काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वानडे सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध पनि नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । खेल ११ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुँदैछ ।
आज नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज ज्ञानेन्द्र मल्ल र विक्रम सोबलाई विश्राम दिएर भीम सार्की र आसिफ शेखललाई मौका दिएको हो । भीमको यो डेब्यू म्याच हो ।
जारी श्रृंखलामा नेपालले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । पछिल्लो दुई खेलमा भने नेपालले युएईविरुद्ध लगातार हार बेहोर्यो ।
पिएनजी भने पछिल्लोपटक राम्रो लयमा देखिएको छ । उसले ब्याटिङ/बलिङ दुवैबाट सन्तुलित प्रदर्शन गरिरहेको छ । पिएनजीले आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
खराब लयमा रहेको नेपाललाई हराउँदै पिएनजी सुखद अन्त्य गर्न चाहन्छ । नेपाल पनि पिएनजीविरुद्धको जित यात्रालाई कायमै राख्ने सोचमा छ । हालसम्म नेपालले पिएनजीसँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ । जसमा नेपालले सबै खेलमा जित हात पारेको छ ।
नेपालको प्लेइङ ११ : भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, आसिफ शेख, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।













