काठमाडौं ।
नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत वर्षको उत्कृष्ट टोलीको अवार्ड जितेको छ । राष्ट्रिय टोलीले २०७७ सालमा ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
घरेलु मैदानमा भएकाे थ्री नेसन्स कप मैत्रीपूर्ण प्रतियोगिताकाे उपाधि नेपालले जितेकाे थियाे । बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू-२३ टोलीसँग बराबरी खेल्दै नेपाल विजेता बनेकाे हाे । थ्री नेसन्स कप मार्फत नै तत्कालिन राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले संन्यास लिएका थिए ।
उनलाई फाइनल खेलमा अन्त्यतिर मैदान प्रवेश गराएर सानदार बिदाइ गरिएको थियो । त्यसअघि राष्ट्रिय टोलीले कोरोना महामारीबाट फुटबल फर्केको संकेत दिन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बंगलादेशमा गएर २ खेल खेलेको थियो ।
पहिलो खेल २-० ले हारेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै पारा एथलिट सम्मानबाट सरिता थुलुङ सम्मानित भएकी छन् ।
एएफसी कपको प्रत्यक्ष प्रसारणको लागि मछिन्द्र र एडप्याडबीच सम्झौता
एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत श्रीलंकन क्लब ब्लु स्टारसँग हुने खेलका लागि शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एडप्याडसँग प्रसारण सम्झौता गरेको छ ।
सोमबार मछिन्द्र र एडप्याडबीच एएफसी कपको प्रारम्भिक छनोट चरणअन्तर्गत श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेलका लागि प्रसारण, मिडिया र वितरण अधिकारको लागि सम्झौता भएको हो ।
लगातार दुई पटक लिग उपाधि जितेको मछिन्द्रले पहिलो पटक एएफसी कपमा खेल्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल यही चैत २२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
















