काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को वानडे सिरिजअन्तर्गत अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । यसपालि पनि नेपालले त्रिकोणात्मक सिरिजमा २ खेल मात्र जित्न सक्यो । यसअघि खेलको दुई त्रिकोणात्मक श्रृंखलामा पनि नेपालले दुईमा हार्दा दुई खेलमा मात्र जित प्राप्त गरेको थियो ।
विश्वकप लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो श्रृंखलामा यूएईविरुद्धको दुवै खेलमा हार बेहार्दा पिएनजीलाई भने हराउन सफल भयो । यूएईमा मंगलबार सम्पन्न सिरिजको अन्तिम खेलमा पिएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । आरिफले १०२ बलमा चार चौकासहित अविजित ५९ रन बनाए । एकदिवसीय क्रिकेटमा आरिफको यो पहिलो अर्धशतक हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ४९ रन थियो ।
त्यस्तै, कुशलले ६४ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५० रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, रोहितकुमार पौडेलले ४८ बलमा पाँच चौकाको मद्दतमा अविजित ४४ रन बनाए । आशिफ शेख २ र दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।
पिएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरियाले एक विकेट लिए । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनायो ।
उसका लागि कप्तान असद भालाले ४५, चाड सोपरले अविजित २२, लेगा सियाकले २०, सेसे बाउले १९, नर्मन भानुले १८, काबुवा मोरियाले नटआउट १७ र चार्ल्स अमिनीले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २९ रन दिएर २ विकेट लिए । त्यस्तै, सोमपाल कामीले १० ओभरमा एक मेडनसहित ३७ रन दिएर २ विकेट नै हात पारे । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र करण केसीले एक/एक विकेट बाँडे ।
विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म १२ म्याच खेलेको छ । जसमा ६ मा जित र ६ खेलमा हारको सामना गरेको छ । यो अवस्थामा नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । यदि नेपालले सोमबारको खेलमा यूएईलाई हराउन सकेको भए अंक तालिकामा पनि सुधार गर्ने थियो ।
यद्यपि, सो म्याच हार्दा नेपाल अंक तालिकाको पाचौं स्थानमा उक्लिन चुक्यो । पिएनजीले १६ म्याच खेल्दा एक खेलमा मात्र जित निकालेको छ । ऊ २ अंकका साथ तालिकाको पुछारमा छ । तालिकाको शीर्ष स्थानमा ओमान छ । उसले २८ म्याच खेल्दा १७ खेल जितेको छ ।
नेपालले तीन सिरिज खेलेपछि यस्तो बन्यो अंक तालिका :

















