काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न एकदिवसीय सिरिज र त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले आज दुई फरकफरक टोली घोषणा गरेको हो । दुवै टिममा कप्तानको जिम्मेवारी सन्दीपले नै पाएका छन् ।
क्यानले यसअघि टी–२० टिममा रहेका ६ खेलाडीलाई यसपालि मौका दिएन । पछिल्लोपटक ओमानमा टी–२० विश्वकप ग्लोबल छनोटका लागि टिममा रहेका ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषवाकर, प्रदीप ऐरी, जितेन्द्र मुखिया र शाहब आलमले आसन्न त्रिकोणात्मक श्रृंखलाका लागि टिममा मौका नपाएका हुन् ।
ग्लोबल छनोटमा जितेन्द्रको प्रदर्शन राम्रो थियो । यद्यपि उनी यसपालि टिममा अटाउन भने असफल भए । यी ६ खेलाडी आउट हुँदा सोमपाल कामी, आदिल अन्सारी र दिलिप नाथले टी–२० टिममा कमब्याक गरेका छन् ।
नेपालले पपुवा न्यूगिनी र मलेसियासँग खेल्ने त्रिकोणात्मक टी–२० सिरिज १४ चैतबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । दोस्रो खेल १६ चैत, तेस्रो म्याच १७ चैत, चौथो खेल १९ चैत र पाँचौं खेल २१ चैतमा हुने तालिका छ । खेल मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछन् ।
त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
नेपालको एकदिवसीय टोली : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।
नेपाल र पपुवा न्युगिनीबीचको दुई खेलको एकदिवसीय सिरिज ११ चैतदेखि सुरु हुनेछ । सिरिजको दोस्रो खेल १२ चैतमा हुनेछ । दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन् ।













