काठमाडौं ।
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशविरुद्ध २–१ गोल अन्तरले पराजित भएको छ । बुधबार साँझ भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो ।
बंगलादेशविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले चौथो मिनेटमै अग्रता लियो । नेपाललाई अमिशा कार्कीले बंगलादेशी गोलरक्षकलाई झुक्याउँदै गोल गरिन् ।
पहिलो हाफ सकिँदा नेपालले १–० को अग्रता कायमै राखेको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले २ गोल खान पुग्यो । योसँगै नेपालले एक खेल नजित्दै प्रतियोगिताको अन्त्य गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो ।
नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमशः ७–० र ५–१ को हार बेहोरेको थियो । बंगलादेशले दोस्रो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो । ३ खेलमा अंकविहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।
















