मान्यता नपाएको करणको त्यो ‘ह्याट्रिक’

Image

काठमाडौं ।

करण केसी अहिले पनि नेपाली टिमका भरपर्दा अलराउन्डर हुन् । आवश्यक परेको बेला उनले ब्याटिङ/बलिङ दुवैबाट टिमलाई महत्वपूर्ण योगदान दिँदै आएका छन् । ‘हार्ड हिटर’ को परिचय बनाएका करणले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

फिटनेस समस्याका कारण पछिल्लो समय टिम भित्र/बाहिर भइरहे पनि उनले लय भने गुमाएका छैनन् । करणले चोटका कारण केही साताअघि ओमानमा सम्पन्न आईसीसी विश्वकप ग्लोबल छनोट गुमाए । सो प्रतियोगितामा उनको अभाव खड्किएको प्रष्टै देखिन्थ्यो ।

यदि ग्लोबल छनोटमा करण फिट भएको भए नेपालले विश्वकपको टिकट पनि काट्न सक्थ्यो । दुर्भाग्य सो महत्वपूर्ण प्रतियोगितामा चोटका कारण उनको प्रदर्शन देख्न पाइएन । चाेटमुक्त भएर खेलमा फर्किएका करणले जारी सिरिजमा खेलेका दुई खेलमा सन्तोषजनक प्रदर्शन गरेका छन् ।

उनले सिरिजको पहिलो खेलमा पिएनजीविरुद्ध ४ ओभरमा ४४ रन दिए पनि टिमलाई जित दिलाउन अहम् भूमिका खेले । उक्त खेलमा करणले आफ्नो अन्तिम ओभरको पाँचौं र छैटौं बलमा नोर्मन भानुआ (५२) र सिमोन अटाई (०) लाई लगातार आउट गरेका थिए ।

क्रिजमा जमेका भानुआलाई आउट गरेसँगै करणले नेपाललाई जित नजिक पुर्याएका थिए । पिएनजीविरुद्ध दुई लगातार विकेट लिएका करणले बुधबार भएको मलेसियासँगको खेलमा पहिलो ओभरमै बलिङको मौका पाए । र, उनले पहिलो बलमै वीरन्दीप सिंहलाई बोल्ड गरे ।

आईसीसीले मान्यता नदिए पनि करणले आफ्नो खेल जीवनमा हासिल गरेको यो अनौठो ह्याट्रिक नै थियो ।उनको यो ह्याट्रिकको खासै महत्व छैन । तर, जारी श्रृंखलामा कमेन्ट्री गरिरहेका कमेन्टेटर एन्ड्रयू लियोनार्डले भने यो सफलता ‘अनररी ह्याट्रिक’ भएको बताइरहेका थिए ।

उनले करणको यो दुर्लभ ह्याट्रिकको प्रशंसा गरे । करण नेपालको तर्फबाट टी–२० मा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् । उनले हालसम्म ३५ खेलमा ७.४५ को इकोनमीमा ४९ विकेट लिएका छन् ।

यो प्रारूपमा सर्वाधिक विकेट लिने नेपाली बलर भने कप्तान सन्दीप लामिछाने हन् । उनले ३६ म्याचमा ६.३१ को इकोनमीमा ६७ विकेट लिएका छन् ।