विराटका कारण यी युवकको गर्लफ्रेण्डसँग भयो ब्रेकअप

Image

काठमाडौं ।

अहिले भारतमा सर्वाधिक चर्चित क्रिकेट लिग आईपीएल जारी छ । लिगमा रोमाञ्चक म्याच देख्न पाइएकाे छ । केही चर्चित खेलाडीले राम्रो प्रदर्शन गर्दा केही खेलाडी भने फ्लप भइरहेका छन् ।

जारी सिजनको ६ म्याच सकिँदा २ बाहेक चार खेलमा ब्याटरले चौका/छक्काको वर्षा गरे । बाँकी लो स्कोरिङ म्याचमा पनि केही रोमाञ्चक दृश्य भने देख्न पाइए । ती दृश्य मैदानभित्र मात्र होइन बाहिर पनि देख्न पाइए ।

यस्तै दृश्य गएराति सम्पन्न कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को खेल पनि देख्न पाइयो । खेल मुम्बईस्थित डा. डीवाइ पाटिल मैदानमा भइरहेको थियो । खेल हेर्न दर्शकको संख्या उच्च थियो ।

त्यसैबेला एक दर्शक यस्ता देखिए, जसको हातमा रहेको पोस्टरमा लेखिएको थियो, ‘मलाई गर्लफ्रेण्डले छोडिन्, किनकी विराटलाई दिनेजति समय म उसलाई दिइरहेको थिएन ।’ ती युवकले लेखेको पोस्टरअनुसार उनी गर्लफ्रेण्डलाई दिनुपर्ने समयमा पनि विराटको म्याच हेर्थे । र, उनी विराटले खेलेको विगत भिडियो हेरेर समय कटाउँथे । फलस्वरूप ती युवकलाई उनकी गर्लफ्रेण्डले छोडिन् ।

कोलकातमाविरुद्ध बैंग्लोरको रोमाञ्चक जित

आईपीएलअन्तर्गत कोलकाताविरुद्ध बैंग्लोर ३ विकेटले विजयी भएको छ । गएराति भएको खेलमा केकेआरले दिएको १२९ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लापग शेरफन रदरफोर्डले २८, सहबाज अहमदले २७, डेविड विलीले १८, दिनेश कार्तिकले अविजित १४, विराट कोहलीले १२ र हर्षल पटेलले १० रन बनाए ।

केकेआरका टिम साउथीले तीन, उमेश यादवले दुई, सुनिल नारायण र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले १८.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो । उसका लागि आन्द्रे रसेलले १८ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक २५ रन बनाए ।

स्टार ब्याटरले साझेदारी गर्न नसकिरहेको बेला १० औं विकेटका लागि उमेश यादव र वरुण चक्रवर्तीले भने राम्रो ब्याटिङ गरे । यो जोडीबीच अन्तिम विकेटका लागि २६ बलमा २७ रनको साझेदारी भयो । जसमा उमेशले १७ र वरुणले १० रनको योगदान दिए ।

उनीहरूकै कारण केकेआरले आरसीबीलाई सम्मानजनक लक्ष्य दिन सक्यो । त्यस्तै, साम बिलिङ्स १४, कप्तान श्रेयस अय्यर १३, सुनिल नारायण १२, वैंकटेश अय्यर, नीतिश राणा १०/१० र अजिंक्य रहाणे ९ रनमा आउट भए ।

बलिङमा वानिन्दु हसरंगा र हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे । हसरंगाले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए । पटेलले ४ ओभरमा २ मेडनसहित ११ रन दिएर २ विकेट लिए । त्यस्तै, आकाश दीपले ३ र मोहम्मद सिराजले एक विकेट लिए ।

यो जितसँगै बैंग्लोर अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उसले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । केकेआर हारका बाबजुद पाँचौं स्थानमा छ । उसले पनि एक खेलमा जित र एक खेलमा हारको सामना गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा राजस्थान रोयल्स छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः दिल्ली, पञ्जाब, गुजरात, लखनऊ, चेन्नई, मुम्बई र हैदराबाद छन् ।

यो पनि पढौं– मान्यता नपाएको करणको त्यो ‘ह्याट्रिक’