नेपाल आज अमेरिकामा ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११

Image

काठमाडौँ । आइसिसी टी–२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले आज नेपाल र अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्सबीचको पहिलो अभ्यास खेल खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज राति ९ः४५ देखि  अमेरिकाको ह्युस्टनस्थित प्रेरी भ्यु क्रिकेट कम्पलेक्समा सुरु हुनेछ ।

नेपाल र अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्सबीच हिजो हुने भनिएको खेल एक दिन सरेर आज हन लागेको हो। आज पनि नेपाल ह्युस्टनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपअघि लयमा रहन चाहन्छ । अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेल हाम्रो खेलकुद युट्युब च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

यसअघि वेस्ट इन्डिजमा  नेपालले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको ३ खेलको शृङ्खला जितेर, नेपाल ह्युस्टन हरिकेन्सविरुद्ध दुई टी–२० खेल खेल्न अमेरिका प्रस्थान गरेको हो।  दुईवटा अभ्यास खेल खेलेपछि नेपाली टिमले विश्वकपको वार्मअप खेल खेल्नेछ । जसअन्तर्गत नेपालले २७ मेमा क्यानडा तथा ३० मेमा अमेरिकाको सामना गर्नेछ । यी दुवै खेल नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुने तालिका छ ।

वार्मअप खेलेपछि नेपालले विश्वकपमा सहभागिता जनाउनेछ । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यो पनि : ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल दीपेन्द्र सिंह ऐरीले गुमाउने 

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, गुलशन झा, रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, प्रतिश जिसी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।