ए गणित !
खुशीको क्षेत्रफल
बढाउने सुत्र कुन हो ?
अनि सपनाको उचाई
कसरी पत्ता लागाउने ?
जिन्दगीको कुन पाठ र
कुन पानामा राखिएको छ ?
भेन चित्र बनाउ भनेर ?
हिजो बिजगणित नजान्दा
कुखुरा बनेको म
आज जिन्दगीको अङ्क गणित नजान्दा
जिन्दगीले कुखुरा बनाइरहेछ ।
के काम
ए र बी का सुत्रहरू ?
भाग, जोड, घटाउ र गुणनहरू
जहाँ दु:ख घटेर शुन्य हुँदैन
सुख शुन्यबाट बढ्दैन
खै कहाँ काम लागे
तथ्याङ्कशास्त्र र ज्यामितिका कोणहरू
पाई,अल्फा र बिताका मानहरू ।
आमाले सयकडा तीनमा ऋण लिएर
मलाई चक्रीय ब्याज पढ्न पठाएकी हुन
अब आमा खाली खुट्टा हिडेको
पैतालाको दुरी कुन सुत्रले नाप्ने ?
बाबाले जिन्दगी भर बगाएका
पसिनाको आयतन कसरी निकाल्ने ?
यी गणितका सुत्रले काम गरेनन्
म गणितमा फेल भएँ ।
समाजिकमा
छिमेकी जिउँदोको जन्ती
मर्दाको मलामी पढिन्थ्यो
तर किन
खुशी पैचो कहिले दिँदैन्न
दु:ख सापटी कसैले माग्दैन्न ?
पढेर देशको सेवा गर्नुपर्छ
किताबको पानामा थिए
तर बिदेशीको गुलाम बन्नु पर्छ कतै पढाइएन
म सामाजिकमा पनि फेल भएँ ।
यदि,
पैसाको इफोट लगाउन सकियो भने
जिन्दगीका लोडहरू
फलक्रम बिना नै उठाउन सकिन्छ
विज्ञानले किन कहिलै पढाएन ?
गुरुत्वआकर्षण बलले
रुखको आँप भुइँमा खस्छ
तर घर बनाउन कै लागि
घर छोडेर
परदेशको पृथ्वीमा नै
पसिना बगाइरहेकाहरूलाई
घरको गुरुत्वआकर्षण बलले
हरेक पल तानिरहन्छ
आफू उभिएको भन्दा
आफू उम्रिएको भुइँको
गुरुत्वबल बढी हुन्छ
विज्ञानले किन कहिले सिकाएन ?
मेरा
खुशीहरूलाई दु:खहरूले
सदा विकर्षण गर्छन्
ध्रुबहरू कसरी मिलाउने ?
भोको पेटले आन्दोलन गर्दा
कति डेसिवलको ध्वनि उत्पन्न हुन्छ ?
जिम्मेवारीको घनत्व अनि
ऋणको चाप कसरी पत्ता लगाउने ?
गरिबीले बेस्सरी टोक्दा
कुन अम्ल उत्पन्न हुन्छ ?
यी प्रश्नको उत्तर
मेरा सर्टिफिकेटमा छैनन्
म विज्ञानमा फेल भएँ ।
जिन्दगी हाँसेर जिउँनु पर्छ
सान्त्वना दिइरहन्छन् सबै
तर
बाबाको मैले डुबाएको लगानी
अनि आमाले मेरो लागि गरेको
दु:ख देखेर हाँस्न
मेरो नैतिकताले कहिलै दिँदैन
म नैतिकमा पनि फेल भएँ ।।
अनि अर्थिक भए मात्र
अगाडी बढ्ने आँट आउँछ
मलाई अर्थशास्त्रको सिद्धान्तले
कहिलै सिकाएन ।
###

















