काठमाडौं । एर्लिङ हाल्यान्डको ह्याट्रिकपेरित घरेलु टोली म्यानचेस्टर सिटीले इङ्लिस प्रियिमर लिगमा शनिबार इप्सविच टाउनविरुद्ध ४-१ को सहज जित निकालेको छ ।
इत्तिहाद रंगशालामा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएनाले एक गोल थपे । सामी स्मोडिक्सले गरेको गोल इप्सविचका लागि सान्त्वना बन्यो ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । दुवै खेलमा हार ब्यहोरेको इप्सविच विनाअंक १९औं स्थानमा छ ।
खेलको सातौं मिनेटमा स्मोडिक्सको गोलमार्फत इप्सविचले अग्रता लिएको थियो । तर यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै हाल्यान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।
डी ब्रुएनाले गोल गर्दा १४औं मिनेटमा सिटी २-१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै हाल्यान्डले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गोल गरे ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा हाल्यान्डले सिजनको पहिलो ह्याट्रिक पूरा गर्दै सिटीलाई सहज जित दिलाए ।
लिगअन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेड तथा फुलहमले लेस्टर सिटीलाई समान २-१, टोटनहमले इभर्टनलाई ४-०, वेस्टहम युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० तथा नटिङ्घम फरेस्टले साउथह्यम्पटनलाई १ ० ले पराजित गरे ।

















