बैतडी । बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथ मन्दिरमा चोरी भएको छ। बुधबार रातिको समयमा मन्दिरको मूल ढोकाको ताला तोडेर चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेशप्रसाद पन्तले बताए ।
उनका अनुसार चोरले मन्दिर भित्र पसेर दानपेटिका भित्रको नगद रुपैयाँका साथै पूजा सामग्रीहरू चोरेर लगेको छ। मन्दिर भित्र रहेको सवा तोलाको सुनको प्रतिमा लगायतका अन्य पूजा सामग्री गरेर ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको पन्तले दाबी गरे।
यस्तै मन्दिरमा लगाएका २५ ओटा बल्ब, १२ ओटा रेलिङ पाइप र ५ सय मिटर खानेपानीको पाइप समेत चोरी भएको कोषाध्यक्ष पन्तले जानकारी दिए। मन्दिरमा चोरी भएको विषयमा इलाका प्रहरी कार्यालय पाटनमा निवेदन आएको र सो विषयमा खोजी र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए।
चोरी भएको मन्दिरको स्थलगत निरीक्षण गर्दा मूल ढोकाको ताला तोडेको पाइएको र चोरी भएको सामग्री र रकम भने एकिन हुन बाँकी रहेको उनले बताए। मन्दिरमा चोरी गर्नेको खोजी भइरहेको उनको भनाइ छ।















