चर्चित मिडियाकाे आईपीओ आउने, यसरी भर्न मिल्ने

Image

काठमाण्डाैं ।

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा बोल्दै टेलिभिजनका अध्यक्ष एबं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आईपीओ जारी हुने घोषणा गरेका हुन् ।

टेलिभिजनले आईपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतापत्रमा टेलिभिजनका अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।

यसैगरी सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । आईपीओमा आवेदन दिने समय साउन २० गतेसम्म रहेको छ भने उक्त समयभित्र माग बमोजिम आवेदन नपरेमा भदौ ५ गतेसम्म रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।