बैतडी ।बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्द विवादमा तानिएका छन्। जिल्ला भलिबल संघ एकलाैटी रूपमा गठन गरिएको भन्दै अध्यक्ष चन्द विवादमा तानिएका हुन्।
यही असाेज १३ गते भएको अधिवेशनले बसन्तप्रकाश विष्टकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको भएपनि गठन प्रक्रिया विवाद आएकाे हाे।
अध्यक्षका अन्य सबै आकांक्षीहरूलाई समेट्न नसक्दा विवाद सिर्जना भएको छ। अध्यक्षका आकांक्षीमध्येका शंकर भण्डारी(सागर)ले संघ गठन गर्दा विधान मिचेर बनाइएको आराेप लगाएका छन्।
अध्यक्षका आकांक्षीहरूबीच सहमति नभएपछि निर्वाचन प्रक्रियामा जानुपर्छ भन्दाभन्दै पनि खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले एकलाैटी रूपमा संघ गठन गरेकाे भण्डारीकाे आराेप छ।
उहाँले भन्नुभयाे,” बन्द सत्रमा सहमति हुन नसकेपछि सबै प्रतिनिधि घर फर्किएपछि हाेटेलमा बसेर समिति गठन गरिएको छ। जुन विधिसम्मत छैन।”
भण्डारी सामाजिक सञ्जालमा बन्द शत्रकाे एक भिडियाे समेत सार्वजनिक गर्नुभएको छ ।
उक्त भिडियाेमा अध्यक्षमा विष्ट,उपाध्यक्षमा भण्डारीसहित अन्य कार्यसमितिमा रहेका पदाधिकारीकाे नाम बाचन गर्दै ताली पिटिरहेकाे देखिन्छ । भिडियोमा भण्डारी उपाध्यक्षमा रहेका भएपनि पछि सार्वजनिक कार्यसमितिकाे उपाध्यक्षमा प्रेम चन्दकाे नाम आएपछि विवाद आएको हाे।
भण्डारीले पनि उक्त भिडियोकै आधारमा एकलाैटी गरिएको भनेर सामाजिक सञ्जालमा अध्यक्ष चन्दकाे विराेध गरिरहेका छन्। भलिबल संघ पुनः गठन हुनुपर्ने भण्डारीकाे माग रहेको छ।
बन्दसत्रमा सहभागी एक प्रतिनिधिले पनि उपाध्यक्ष भण्डारीकाे नाम हटेर समिति बनेपछि अचम्मित भएकाे बताए। नाम नखुलाउने सर्तमा उनले भने,”बन्दसत्रमा भण्डारीकाे नाम सर्वसम्मत भएकाे थियाे। समिति बन्याे भनेर हामी घरतिर निस्क्याै तर पछि राति सार्वजनिक नामलिस्ट हेर्दा अर्कै देखियाे।”
यता जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले आफ्नाे क्षेत्राधिकार प्रयाेग गरेर र विधिविधानअनुसार नै संघ गठन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयाे,” मैलै खेलकुदकाे अध्यक्षकाे क्षेत्राधिकार र विधिविधानअनुसार नै भलिबल संघ गरेको हुँ,कुनै विवाद छैन ।”
उपाध्यक्षमा भण्डारीलाई समेट्न खाेज्ने प्रयास गरिएको भएपनि संघमा जिल्लाका सबै क्षेत्रकाे प्रतिनिधित्व गराउनुपर्दा भण्डारी छुटेका अध्यक्ष चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयाे,”उपाध्यक्षमा सागरजीकाे नाम समेट्न खाेजेका थियौं । तर प्रेम चन्द र भण्डारी एउटै पालिकाकाे रहेकाले जिल्ला अन्य क्षेत्रलाई समेट्नुपरेकाे हाे।”
यसका साथै असाेज १३ गतेसम्म जिल्ला भलिबल संघकाे अधिवेशन सम्पन्न गर्न केन्द्रकाे निर्देशन रहेको र उक्त मितिसम्म अधिवेशन नभए संघ निलम्बन हुने चेतावनी दिइएकोले निर्धारित मितिमै संघ गठन गरिएको अध्यक्ष चन्दकाे दाबी रहेकाे छ।
अधिवेशनले भण्डारीलाई प्रदेश प्रतिनिधि चयन गरिएको अध्यक्ष चन्दले बताउनुभयाे। तर भण्डारीले भने प्रदेश प्रतिनिधिमा पनि आफ्नो सहमति नरहेको जानकारी दिनुभयाे।
यसअघि असाेज ४ गते राखिएको अधिवेशनमा पनि विवाद हुँदा असाेज १३ गते अधिवेशन धेकेलिएकाे थियाे।
अधिवेशनबाट बसन्त प्रकाश बिष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रेम चन्द र उपाध्यक्षमा अशोक बहादुर चन्द, सचिवमा देव महरा र कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन भएका हुन् ।















