काठमाण्डाैं ।
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज बुधबार (साउन ४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको उक्त शेयरमध्ये ५ प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ७० हजार २५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी १ अर्ब ११ करोड ५१ लख रुपैयाँ र कम्पनी तथा आयोजनामा कार्यरत कामदार/कर्मचरीहरुबाट करोड ९६ लाख ५० हजार रुपैयाँ गरी हाल १ अर्ब १९ करोड ४७ लाख ५० हजार रुपैयाँ रहेको छ ।
आयोजना प्रभावित स्थानियलाई १५ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख ९३ हजार कित्ता र सर्वसाधारणलाई २३ करोड ८९ लाख ५० हजार रुपैयाँ गरी ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले निष्काशन गरेको शेयरमा साउन ८ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे साउन १८ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
औषत जोखिम जनाउने रेटिङ्ग
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ । केयर रेटिङ्गस नेपालले कम्पनीको आईपीओलाई अगष्ट ९, २०२१ मा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि अगष्ट ८, २०२२ सम्म कायम रहने कम्पनीले जनाएको छ ।
कस्तो कम्पनी हो?
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रा. लि. को नाममा २०६१ फाल्गुन १७ मा कम्पनीको रुपमा स्थापना भई कम्पनी ऐन २०६३ बमोजिम २०७३ अशोज १२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो ।
कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ४, शंखपार्क, धुम्बाराही काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र तथा आयोजना भने रामेछापको लिखु तामाकोशी गाँउपालिका बडा नं. २ मा रहेको छ ।
कम्पनीले २८.१ मेगाबाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना सञ्चालन गर्दै आईरहेको छ । आयोजनाको कुल लागत ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ७ महिना र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १५ वर्ष ८ महिना रहेको छ ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका वासिन्दालाई तथा जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबर शेयर अयोजना प्रभावित क्षेत्रका वासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (सामुहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुर्याउन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक खर्च गर्नेछ ।
आईपीओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीले सिभिल निर्माणमा २१ करोड २० लाख ९४ हजार रुपैयाँ, इलेक्ट्रोमेकानिक खरिद तथा जडानको लागि ५ करोड १६ लाख ५४ हजार रुपैयाँ, हाइड्रोमेकानिकल खरिद तथा जडान गर्न २ करोड १० लाख ७० हजार रुपैयाँ, विद्युत प्रशारण लाइफ निर्माण गर्न ६ करोड ९६ लाख ४५ हजार रुपैयाँ र प्रशासनिक तथा ईन्जिनियरिङ्ग व्यवस्थापनमा ४ करोड ३७ लाख ८४ हजार रुपैयाँ खर्च गर्नेछ ।
दुई वर्षमा सञ्चित नाफा करिब २७ करोड पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २६ करोड ७२ लाख ३९ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा पनि कम्पनीले १० करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनी ६ करोड ६ लाख रुपैयाँ नोक्सानीमा हुनेछ । अघिल्लो आर्थिक वर्षको अन्यसम्ममा पनि कम्पनी ७ करोड ११ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ७ पैसा पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ७० पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ५१ पैसा हुने अनुमान छ । गत आर्थिक वर्षका अन्त्यसम्ममा कम्पनी कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ १९ पैसा र प्रतिशेयर आम्दानी ६६ पैसा रहेको थियो ।
पूँजी संरचना कस्ताे छ?
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ११ करोड ५१ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानिय, कम्पनी तथा आयोजनाका कर्मचारीहरु, म्युचुअल फण्ड र सर्वसाधारणहरुलाई गरी ३९ करोड ८२ लाख ५० ह्जार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ५ जना सञ्चालकहरु रहेका छन् ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा डा. माणिकलाल श्रेष्ठ रहेका छन् । सानिमा हाइड्रोपावरका प्रतिनिधि रहेका श्रेष्ठले अर्थशास्त्रमा पिएचडि गरेका छन् । श्रेष्ठसँग आईएमएफ, विश्व बैंक, संयुक्त राष्ट्र संघ, केन्द्रिय तथ्यांक विभागत तथा राष्ट्रिय योजना आयोगमा समेत काम गरेको अनुभव छ । यस्तै सञ्चालक समितिमा सुवर्णदास श्रेष्ठ, विद्यावारिधि सिग्देल, शान्ति निरौला (ओझा) र कन्हैया कुमार मानन्धर रहेका छन् । मानन्धर स्वतन्त्र सञ्चालक हुन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ । कम्पनीले तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरी संचालन गर्ने उदेश्यलाई पहिलो प्राथमिकता दिएको छ ।
अन्य जलविद्युत आयोजनामा लगानी समेत गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेर यस आयोजनालाई सुचारु रुपमा संचालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने लक्ष्य लिएको छ ,
कम्पनीले आफ्नो पूँजी तथा दायित्व समेतलाई बिचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी गर्न सकिने छ ।
यस कार्यका लागि सम्भाव्य आयोजनाहरुको पहिचान गर्ने, त्यस्ता आयोजना कम्पनीहरुको अध्ययन गर्ने र त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्र्योल गर्ने र लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गरिने छ । लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशेष ध्यान दिने रणनीति अख्तियार गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने पनि कम्पनीको योजना रहेको छ ।















