डडेलधुरा ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाले आफ्ना सदस्यहरूलाई निर्धक्कसँग कारोबार गर्न आग्रह गरेको छ।
बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टीकाटिप्पणी र अनर्गल प्रचार भइरहेको भन्दै त्यस्ता कुरामा विश्वास नगर्न आग्रह गरेको हो।
संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टीका टिप्पणी र नकारात्मक कुराहरू आइराखेको भएपनि संस्था नडगमगाएकोले ढुक्कसँग कारोबार गर्न शाखाका म्यानेजर डम्बर पनेरुले आग्रह गरे। उनले बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको पनि जानकारी दिए।
सहकारीले सिंगो देश नै आर्थिक तरलतामा गुज्रिरहेको परिवेशमा सामान्य सहकारी तथा वित्तीय संस्था पनि त्यसको मारमा परेको भएपनि सहकारी त्यस्तो नराम्रो अवस्थामा नरहेको र सदस्यको विश्वास कुनै पनि हालतमा टुट्न नदिने उनले जिकिर गरे।
सहकारीको भवन व्यक्तिको नाममा भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै उनले संस्थाकै नाममा भवन रहेको बताए । ‘सहकारीको भवन व्यक्तिको नाममा रहेको भन्ने हल्ला छ। तर, त्यस्तो होइन्। सहकारी संस्थाकै नाममा छ। ब्रान्चमा म्यानेजर भाग्यो भन्ने अफवाह फैलाइयो त्यो झूटो हो,’ उनले भने, ‘म म्यानेजर हुँ। ब्रान्चमै छु।’
उनले थपे, ‘सामाजिक सञ्जालमा नकारात्मक टीका टिप्पणी हुँदा सदस्यहरू सबै आउँदा समस्या भएको छ। यस्तै रहने हो भने हामी मार्केट गर्न पाउँदैनौं। व्यस्तता यतै हुन्छ। त्यसैले अफवाहमा नपरी ढुक्कसँग कारोबार गर्न आग्रह गर्छु।’
साथै, उनले सहकारीको सुदूरपश्चिम प्रदेश शाखाले भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारीको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत् समेत सबै विषय स्पष्ट भएको जानकारी दिए।
डडेल्धुरास्थित तुफानडाँडामा संस्थाको नाममा ४ तल्ले भवन रहेको र सोही भवनबाट शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र संस्थाद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सुविधा दिइराखेका छन्।
संस्थाकै लगानीमा डडेल्धुराको बागबजारमा गार्डेन मार्टको अर्को शाखा रहेको छ। जिल्लामा ३९ करोड ८ लाख निक्षेप रहेको उक्त सहकारीको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको जनाएको छ। सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ।
यसअघि, प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा केही समस्या आएको भएपनि प्रचार गरिएजस्तो नभएको भन्दै बचतकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गरेको थियो।