खुल्यो समता घरेलु लघुवित्तको एफपीओमा आवेदन, हेर्नुहोस् यस्तो छ ‍वित्तीय अवस्था

Image

काठमाडौं । समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) आज सोमबार कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । यस लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

कस्तो छ रेटिङ ?

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

कति कित्ताका लागि आवेदन दिँदा उपयुक्त होला ?

समता घरेलु लघुवित्तको एफपीओ पाउन पनि लगानीकर्ताले पनि भाग्यकै भरोसा गर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ५० हजार ९०४.२५ कित्ता मात्र सेयर निष्कासनमा ल्याएको छ । यसआधारमा यस कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा जम्मा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्ने छन् ।

यसआधारमा हेर्ने हो भने यो एफपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण

‘समता घरेलु लघुवित्त वित्तीय संस्था लि’ कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो । यसको केन्द्रीय बनेपा नगरपालिका ७ काभ्रेपलाञ्चोकमा रहेको छ । यस लघुवित्तको कारोबार गर्ने मुख्य स्थान पनि बनेपा नगरपालिका–७, काभ्रेपालान्चोकमा हो ।

यस लघुवित्तको ३३ जिल्लामा ९९ शाखा कार्यालयहरु रहेका छन् । भविष्यमा आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोली लघुवित्त सम्बन्धि कारोबार गर्न सक्नेछ ।

साविकको समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भएर समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७८ बैशाख २ गतेदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेर २०८१ असार २४ गते देखि एकीकृत कारोवार सञ्चालन गरेको हो ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

समता घरेलु लघुवित्त अधिकृत पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ छ । एफपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ नै पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ६९.४८ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३०.५२ प्रतिशत रहनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्तिमसम्म ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३–८४ सम्म यहि पुँजी कायम रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म १२ करोड ८७ लाख ४० हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८३—८४ मा १९ करोड ११ लाख ३६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा र आर्थिक वर्ष २०८३–८४ सम्ममा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९० पैसा हुने प्रक्षेपण छ ।

कार्यकारी र आधारभूत सेयरधनीहरु

यस कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डम्मर मणि थेबे लिम्बु रहेका छन् । उनको यस कम्पनीमा १ लाख ४७ हजार ८१९ कित्ता सेयर स्वामित्व रहेको छ । साथै, यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद डा.मदन घिमिरेले सम्हालेका छन् । उनले मानवशास्त्रमा विद्यावारिधी र एमबिएसम्म अध्ययन गरेका छन् । उनले २०७८ बैशाख २ गतेदेखि हाल सम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

एफपीओ जारी गरेको रकम कुन प्रयोजनका लागि खर्च हुन्छ ?

एफपीओ निष्कासनबाट प्राप्त हुने कुल रकम नेपाल राष्ट्र बैंकको निर्देशन तथा कम्पनीको आन्तरिक नीतिको अधिनमा रही कर्जा लगानी विस्तारका लागि प्रयोग गर्ने कम्पनीले जनाएको छ । साधारण सेयर निष्कासन गरी प्राप्त हुने पुँजीवित्तीय संस्थाको नियमित लघुवित्त कारोबार एवं आर्थिक कारोवारहरु विस्तार एवं वृद्धि गर्न उपयोग गरिने कम्पनीले जनाएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी (विपन्न वर्ग कर्जा समेत) मा उक्त रकम लगानी गर्नेछ ।