काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले आजै राति ९ बजे शपथ ग्रहण गर्ने भएकी छन् । उनको शपथका लागि शीतलनिवासमा तयारी भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलको सचिवालयले यसको पुष्टि गरेको छ । सचिवालयले सार्वजनिक गरेको प्रेसनोटमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथसमेत खुवाउने तयारी भएको छ ।’
नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ । सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।
सानो मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य राखिएको छ । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।
प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो । अहिले राष्ट्रपति कार्यालय बाहिर सूचनाकर्मीको बाक्लो भीड छ ।


















