काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी गरेका छन्।
गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए।
थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने? भन्दै आलोचना भएको थियो। त्यसतर्फ संकेत गर्दै कास्कीमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्।’
महामन्त्री थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताएका थिए।
‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ- मागेर देश चल्छ? मागेर अस्पताल बनाउने….?,’ थापाले भने, ‘गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’














