स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ को बन्ला ? चर्चामा रहेका यी ६ नाम

Image

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२औं तहको प्रमुख विशेषज्ञ पदका बढुवा प्रक्रिया अघि बढाएको छ ।

आइतबार मन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ ।

बढुवाका लागि २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिमको सेवा अवधी पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

स्वास्थ्यमा प्रमुख विशेषज्ञ पद १२औं तहको पद चार वटा दरबन्दी रहेको छ । जसमध्ये अहिले एउटा पद खाली छ । गत २ मंसिरमा प्रमुख विशेषज्ञ पदमा बढुवा भएका डा. भीमसिंह तिंकरीले गत २ माघमा अवकाश पाएपछि एउटा पद खाली भएको हो । अहिले डा. दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव र डा. गुणराज लोहनी प्रमुख विशेषज्ञ पदमा कार्यरत छन् ।

अघिल्लो पटक १२ औं तहको रिक्त रहेको तीन पदका लागि ५ जनाको नाम सिफारिस भएको थियो ।कार्य सम्पादन मूल्यांकन तथा दुर्गम बसेको आधारमा डा. श्याम सुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. भीम सिंह तिंकरी, डा. संगिता कौशल मिश्रा र डा. गुणराज लोहनीको नाम बढुवाका लागि सिफारिस भएको थियो ।

त्यसमध्ये पहिलो नम्बरका डा. श्याम सुन्दर यादव,दोस्रोमा तिंकरी र अन्तिममा रहेका डा. लोहनीको प्रमुख विशेषज्ञमा बढुवा भएको थियो । जसमा तेस्रो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ र चौथोमा डा. संगिता कौशल मिश्रा परेकी थिइन् ।

अघिल्लो पटक ५ जनाको नाम सिफारिस हुँदा तीन र चार नम्बरमा परेकाले अहिले स्वतः दुवै जनाको नाम सिफारिस हुने मन्त्रालय स्रोतको दाबी छ । कार्यसम्पदान मूल्याकंलनको अधारमा श्रेष्ठ र डा. मिश्राबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता रहेकी डा.मिश्रा प्रमुख विशेषज्ञ हुने बलियो सम्भावना रहेको मन्त्रालयका अधिकारीको आंकलन छ ।

‘अघिल्लो पटक तीनै जना पुरुष सिफारिस भएकाले यस पटक महिला हुने सम्भावना बलियो छ,’ एक कर्मचारीले भने ।

प्रमुख विशेषज्ञमा मिश्रा सिफारिस भए हालका सचिव डा. रोशन पोखरेल पछिको स्वास्थ्य सचिव डा. मिश्रा नै हुने अधिकारीहरु बताउँछन् ।

बाह्रौं तह बढुवाका लागि दाबी गर्नेमा डा. कृष्णप्रसाद पौडेल, डा. संजय कुमार ठाकुर, डा. सुधा देवकोटा, डा. आमिर बाबू, डा. विकास देवकोटा, प्रा.गोमा देवी निरौला लगायतका कर्मचारीहरु छन् ।