काठमाडौँ ।
विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।
गए राति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् ।
दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।
दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलङ्का, भुटान, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दस करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ ।
व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन् ।
यस्तै उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ ।
भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।
२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी टप टेनको सूचीमा रहेका छन् । अदानी नवौँ र अम्बानी दसौँ नम्बरमा छन् ।