सिवाईसी नेपाल लघुवित्तकाे आईपीओ भर्नु भयाे कि बाँकी छ ? यस्ताे छ वित्तिय अवस्था..

Image

काठमाण्डाैं ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले  बैशाख २ गते शुक्रबार देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

लघुवित्तले जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५० प्रतिशत आर्थत ६ हजार ८२ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ र चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ।

सर्वसाधारणलाई ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा बैशाख २ गते देखि बैशाख ६ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे बैशाख १६ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

रेटिङ्ग कस्ताे ?

लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

लघुवित्तले रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले २०७८ भदौ ३१ गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ भदौ ३० गतेसम्म कायम रहनेछ।

कस्तो संस्था हो?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था २०७५ असार १७ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो।

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको गैर सरकारी संस्था “चारतारे युवा क्लब, नेपाल” ले गर्दै आईरहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ चैत्र १ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ।

लघुवित्तले साविकको शालीग्राम लघुवित्तलाई प्राप्ति गरस् २०७८ असार २९ गतेदेखि एकिकृत रुपमा कारोबार गर्दै आइरहेको छ। नेपालभर कार्यक्षेत्र बनाएको लघुवित्तको ४८ वटा जिल्लामा ७३ वटा शाखा कार्यालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

यस वित्तीय संस्थाका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था तथा बैंकिङ्ग क्षेत्र, सरकारी क्षेत्र, गैर–सरकारी क्षेत्र, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन्।

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय गण्डकी प्रदेशको बागलुङ जिल्ला, बागलुङ नगरपालिका, वडा नं. ३, बागलुङ बजार, समीक्षालय रोडमा रहेको छ।

तीन वर्षमा सञ्चित नाफा साढे २५ करोड पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २४ करोड ४९ लाख ८३ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ६ करोड ३१ लाख २२ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा लघुवित्तले १० करोड ८४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले ११ करोड ९० लाख ३८ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ४७५ रुपैयाँ ६८ पैसा र प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ३६ पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको पुससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ४१३ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी ७० रुपैयाँ ८४ पैसा रहेको छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ। त्यस अनुसार संस्थाले जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ मध्ये १ करोड ९७ लाख ६६ हजार ८०० रुपैयाँ पशुपालन तथा कृषि कर्जामा, ७९ लाख ६ हजार ७२० रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र ७९ लाख ६ हजार ७२० रुपैयाँ साना तथा घरेलु कर्जा लगानी गर्ने लघुवित्तले जनाएको छ। यस्तै २८ वटा शाखा विस्तारको लागि लघुवित्तले ३९ लाख ५३ हजार ३६० रुपैयाँ लगानी गर्नेछ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ।

सञ्चालक समितिको अध्यक्षमा पद्यनाथ शर्मा रहेका छन्। चारतारे युवा क्लबमा लामो समयदेखि आवद्ध शर्मा बारिष्ठ अधिबक्ता समेत हुन्।

यस्तै सञ्चालक समितिमा सदस्यमा डोलिन्द्र प्रसाद शर्मा, ओम प्रकाश पौड्याल, कृष्ण बहादुर थापा, सन्तोष कुमार अर्याल, सुनिता पौड्याल, सन्तोष रावल रहेका छन्।

हाल लघुवित्तको सञ्चालक समितिमा रहेका सन्तोष कुमार अर्याल भने स्वतन्त्र सञ्चालक हुन्। बाँकी ६ जना भने संस्थापक शेयरधनीहरुबाट सञ्चालक समितिमा रहेका छन्। आईपीओ निष्काशन पश्चात सर्वसाधारण शेयरधनीहरुबाट पनि सञ्चालक चयन हुनेछ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ।

लघुवित्तले आगामी दिनहरुमा शाखा विस्तारमा थप जोड तयारी थालेको छ। संस्थाले आफ्ना शाखा विस्तारको हिसाबले निक्षेप संकलन तथा कर्जा प्रवाह समेत गर्ने योजना बनाएको छ। भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा पुर्याउन प्रयत्नरत रहने लघुवित्तले जनाएको छ।

यस्तै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लगिने, समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण समेत गर्नेछ। मेराे लगानीले लेखेकाे छ ।