अभियान लघुवित्तकाे आईपीओ भर्नु भयाे कि बाँकी नै छ ? यस्ताे छ वित्तिय अवस्था

Image

काठमाण्डाैं ।

अभियान लघुवित्त वित्तीय संस्थाले आज (साउन १८ गते) बुधबार देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

लघुवित्तले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ९ लाख १३ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ र चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशन पश्चात संस्थापकको ६१ प्रतिशत र सर्वसाधारणको ३९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३ हजार कित्ता अर्थात ३० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा साउन १८ गते देखि साउन २२ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ १ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

रेटिङ्ग

लघुवित्तको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले ‘इक्रानपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ मंसिर १७ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ मंसिर १६ गतेसम्म कायम रहनेछ ।

कस्तो संस्था हो?

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ बमोजिम २०७५ चैत २४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७६ असोज १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०७६ मंसिर १ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

यस वित्तीय संस्थाका संस्थापकहरुमा मेगा बैंक, कुमारी बैंक लगायत सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा ब्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

यस वित्तीय संस्थाको कारोवार गर्ने स्थान नेपाल राज्यभर रहेको छ । २०७८ चैत मसान्तसम्म यस लघुवित्त वित्तीय संस्थाले २१ जिल्लाहरुमा ६० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ । लघुवित्तले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोलि वित्तीय कारोबार गर्न समेत सक्नेछ ।

यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पनौती नगरपालिका वडा नं. ०४, काभ्रेपलान्चोकमा रहेको छ । यस लघुवित्त वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उदेश्य राखेको छ ।

कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य ब्यवसायिक रूपले सम्भाब्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने उदेश्य राखेको छ ।

उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक ब्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रवद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा ब्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने उदेश्य राखेको लघुवित्तले जनाएको छ ।

वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुर्याई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुर्याउने र देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वासनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने लघुवित्तको उदेश्य रहेको छ ।

दुई वर्षमा सञ्चित नाफा करिब साढे १३ करोड पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा १३ करोड ४६ लाख ६१ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ मा पनि लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन अनुमान गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले ६ करोड ४१ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले ३५ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५१ पैसा र प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३६ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा पुग्ने लघुवित्तको अनुमान छ ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३९ प्रतिशत अर्थात ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी २५ करोड रुपैयाँ पुर्याउन लागेको हो ।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ९ करोड ७५ लाख रुपैयाँ मध्ये पशुपालन तथा कृषि कर्जामा ४ करोड ५० लाख रुपैयाँ, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा ४ कारेड ५० लाख रुपैयाँ र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ७५ लाख रुपैयाँ लगानी गर्नेछ ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ ।

सञ्चालक समितिको अध्यक्षमा बाबुराम थापा रहेका छन् । यस्तै सञ्चालक समितिमा सदस्यहरुमा भोजराज भट्टराई, भारती कुमारी पाठक, प्रवीण झा र केशव थापा रहेका छन् । थापा स्वतन्त्र सञ्चालक हुन् ।

हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने आईपीओ निष्काशन पश्चात सर्वसाधारण शेयरधनीहरुबाट २ जना सञ्चालक चयन हुनेछ ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने रोशन कुमार अधिकारी रहेका छन् । सिइओ अधिकारीसँग लघुवित्त क्षेत्रमा करिब २४ वर्षको कार्यानुभव रहेको छ ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ ।

आगामी दिनहरुमा उपयुक्त स्थानमा आवश्यकता र प्रतिफलको सिद्धान्तको आधारमा शाखा बिस्तारमा थप जोड दिने र शाखा विस्तारको आधारमा प्रभावकारी रुपले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्ने लघुवित्तको मुख्य योजना रहेको छ ।

भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिम तथा संभाव्य उपयुक्त लघुवित्तीय सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा ल्याउन प्रयत्नरत रहने, आय आर्जन मुलक कार्य गरी जीवनस्तर उकास्न लालायित सदस्यहरु समूहमा प्रवेश गराउन जोड दिई सदस्य संख्या बृद्धि ल्याउने र सफल सदस्यहरुलाई प्रोत्साहन, सम्मान गर्ने लघुवित्तको रणनीति रहेको छ ।

समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने, गुणस्तरीय सेवाग्राहीहरुको संख्यामा बृद्धि गर्दै लैजाने पनि योजना रहेको रहेको छ ।

संस्थागत रुपमा सबल बन्न तथा सदस्यहरुलाई थप सेव सुविधा उपलब्ध गराउनको लागि मर्जर तथा प्राप्तिको सम्भावनाको खोजी गर्ने, लघुवित्तीय सेवालाई प्रभावकारी र सदस्यको आवश्यकता परिपूर्तिको प्रभावकारी माध्यम बनाउने उपाय, तौरतरिकाको खोजी गर्ने लघुवित्तको योजना रहेको छ ।