Khabar Board

कोरानाको नयाँ भेरियन्टको नाम कसरी राखियो केपी ? कति घातक ?

काठमाडौं । कोभिड–१९ ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी १, केपी २, केपी ३ र केपी ४ को संक्रमण नेपालमा पनि फेला परेको छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, अहिलेसम्म संक्रमण र क्षतिका हिसाबले यी सबभेरियन्ट त्यति घातक छैनन् । यद्यपि, रोग प्रतिरोधात्मक क्षमता कम भएका, ज्येष्ठ नागरिक र दीर्घ रोगीले भने सावधानी अपनाउनुपर्नेछ ।

कुनै बेला संसारको सातो लिएको कोभिड–१९ विभिन्न भेरियन्ट, सबभेरियन्टहुँदै ‘केपी’सम्म आइपुगेको छ । नेपालमा अहिले यसको नयाँ नामलाई लिएर सम्भवतः धेरैलाई जिज्ञासा छ । सोसल मिडियामा कतिपयले यसलाई हाँसीमजाकमा प्रयोग गरेको पनि देखिन्छ । किनकि, पछिल्लो सबभेरियन्टको नाम ‘केपी’ हो, जुन नाम नेपालमा धेरै मान्छेको नामसँग मेल खान पुग्छ ।

कसरी राखियो नाम ?

जेनेटिक संरचनाका आधारमा भाइरसको नाम राख्ने गरिन्छ । भाइरोलोजिस्ट र वैज्ञानिकहरूले नै राखे पनि आधिकारिक रूपमा इन्टरनेसनल कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (आईसीटीभी)हुँदै विश्व स्वास्थ्य संगठनको इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिजेज (आईसीडी) ले आधिकारिक रूपमा नाम राख्छ ।

केपी १ र केपी २ यसअघि ओमिक्रोन भनेर पहिचान गरिएको भेरियन्टकै शाखा हुन् । यी दुवै जेएन १ को वंशज हुन् । जेएन १ ओमिक्रोन वंशकै एक हिस्सा हो । डा. पुनका अनुसार, वैज्ञानिकहरूले केपी १ र केपी २ लाई ‘फ्लिर्ट’ उपनाम दिएका छन् । फ्लिर्ट शब्दको प्रयोग विभिन्न भेरियन्टको पूरै परिवारको वर्णन गर्नका लागि गरिएको छ, जसमा केपी २, जेएन १.७ र केपी वा जेएनबाट सुरु हुने कुनै पनि अन्य सबभेरियन्ट पर्छन् । केपी १ र केपी २ यिनको म्युटेसनको प्राविधिक नामका आधारमा एफआईआरटी (फ्लिर्ट) नाम दिइएको हो ।

ओमिक्रोन तीव्र रूपले फैलिन्थ्यो । यसअघि ओमिक्रोमको पिरोला भनिने बी२.८६ सबभेरियन्ट आएको थियो । ओमिक्रोनकै सबभेरियन्ट जेएन १ थियो । केपी २ मा दुई मुख्य उत्परिवर्तन देखिएका छन्, यही आधारमा यसलाई फ्लिर्ट भनिएको छ । विज्ञहरूका अनुसार, कोरोना भाइरसको स्पाइक प्रोटिनमा हुने परिवर्तन अर्थपूर्ण हुन्छ । किनकि, यहीँबाट भाइरस शरीरमा प्रवेश गर्छ ।

नाम राख्दा सावधानी

बीबीसीका अनुसार, पहिला जहाँ भेरियन्ट पत्ता लाग्यो, त्यही ठाउँबाट यसलाई चिन्ने गरिन्थ्यो । यसो गर्दा स्थान विशेषविरुद्ध विभेदपूर्ण भावना विकसित भएपछि डब्लूएचओले नयाँ प्रणाली ल्याएको थियो । जसअनुसार, यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा, अनि भारतीय भेरियन्टलाई डेल्टा नाम दिइएको थियो ।

विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको निर्देशिकाअनुसार नयाँ कोरोना भाइरसको नाम राख्दा ठाउँको नाम, मानिसको नाम, कुनै पशु वा खानेकुराको नाम, कुनै संस्कृति वा उद्योगलाई संकेत गर्ने कुरासँग मिल्नु हुँदैन ।

जस्तै, कोरोना भाइरस सबैभन्दा पहिला चाइनामा फेला पर्दा यसलाई ‘चाइना भाइरस’ भन्न थालिएको भए चीनले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्थ्यो । त्यसैले अचेल विशेषताहरू विश्लेषण गरेर प्राविधिक नाम राख्ने गरिएको छ । ‘केपी १, केपी २ विश्व स्वास्थ्य संगठनकै टिमले राखेको हो । यसको उपनाम फ्लिर्ट हो,’ डा. पुनले भने । -शिलापत्र

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.