मकवानपुरमा माघदेखि मापदण्ड नमान्ने मासु व्यवसायीमाथि कारबाही गर्ने तयारी

Image

हेटौँडा । मकवानपुरमा मासु व्यवसायलाई व्यवस्थित बनाउन पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा कडाइ गरिने भएको छ।

हेटौँडामा आयोजित सरोकारवालाबीचको अन्तरक्रियामा अनुगमनका क्रममा मासु पसल तथा बधस्थलमा स्वच्छता, फोहोर व्यवस्थापन र कानुनी मापदण्ड पालना नभएको पाइएको भन्दै अब सम्झाउनेभन्दा कारबाहीतर्फ अघि बढ्ने बताइएको हो।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले माघ १ गतेदेखि ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी तयारी भइरहेको बताइन्। त्यसका लागि बधशाला, वधस्थल र मासु पसलको लगत संकलन गरी दर्ता तथा इजाजतपत्रको अवस्था यकिन गरिने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पटक–पटकको अनुगमन र सम्झाइबुझाइपछि पनि सुधार नभए कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले मासु तथा माछा बिक्रीस्थलमा स्वच्छता कायम गर्न र फोहोर व्यवस्थापनलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिए।

पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिमलाई ध्यानमा राख्दै पशु स्वास्थ्य परीक्षणदेखि मासु बिक्रीसम्मका सबै प्रक्रिया मापदण्डअनुसार हुनुपर्ने बताए।

व्यवसायीहरूले भने दर्ता तथा मापदण्ड पूरा गरेर सञ्चालनमा रहेका व्यवसायलाई खुला रूपमा सञ्चालन हुने पसलका कारण समस्या परेको गुनासो गर्दै सबै व्यवसायलाई समान रूपमा कानुनी दायरामा ल्याउन माग गरेका छन्।