विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

Image

२२ पुस, काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ‘असंवैधानिक’ केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो।

विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग भएको छ। चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए। विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको भए पनि चौधरीको उक्त अवधि नपुग्ने दाबी यादवले गरेका छन्।