जिल्ला कारागार बैतडीमा कैदीबन्दीहरुका लागी सीपमुलक तालिम शुरु

Image

बैतडी । जिल्ला कारागार बैतडीमा कैदीबन्दीहरुका लागी सीपमुलक तालिम शुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मालिला तथा कानुन मन्त्रालयको सहयोगमा कैदीबन्दीहरुका लागी ३ महिने सीपमुलक तालिम शुरु गरिएको हो ।

चालु आर्थिक बर्षमा बिनियोजित ४ लाखमा जिल्ला कारागारका ४० जना कैदीबन्दीहरुलाई सिलाई कटाई र बिद्युत जडान सम्बन्धी तालिम दिन लागिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिनुभएको छ । तालिमको बिहिवार प्रदेश सरकारकी आन्तरिक मालिला तथा कानुन मन्त्री पुर्णा जोशीले उद्धघाटन गर्नुभएको छ ।

बिभिन्न अपराध गरी बन्दी जीवन बिताई रहेकाहरुलाई कैदमुक्त भएपछि समाजमा स्थापित हुन र जीबिको पार्जन गर्न सहज होस भन्ने उदेश्यले तालिम दिन शुरु गरिएको जेलर तिवारीले बताउनुभयो । पहिलो चरणमा ४० जनालाई सिलाई कटाई र बिद्युत जडान सम्बन्धी तालिम दिन थालिएकोमा आवश्यकका पहिचान गरी अन्य तालिम पनी दिईने जेलर तिवारीको भनाई छ ।

मन्त्री जोशीले समाजबादी प्रेस संगठन बैतडीले गरेको पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक बर्ष २०७८/७९ को बार्षिक कार्यक्रम अन्तर्गत सीप मुलक तालीम र पुर्बाधार कार्यक्रमको सुरुवात गरेको बताएकी छन् । कारागारको सुदृढीकरण गर्ने कार्यक्रम अन्तर्गत कारागारको अवस्था लगायतका बारेमा अनुगमन तथा निरीक्षण पनी गरिएको मन्त्री जोशीले बताइन् ।

अहिले प्रदेश भरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा समस्या उत्पन्न भएको र समस्या समाधानका लागी आफ्नो मन्त्रालय लागी परेको उनको भनाई छ ।

यस्तै चालू आर्थिक वर्षमा जिल्ला कारागार बैतडीको मर्मत सम्भारका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । २०४० सालमा स्थापना भएको कारागार अति नै जीर्ण बनेको छ । अहिले प्रदेश सरकारबाट बजेट बिनियोजन भए पछि मर्मतको काम पनी शुरु भई सकेको छ ।