हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १९ सदस्यीय रहेको कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।
अघिल्लो वर्ष कोभिड महामारी चर्किएको बेला ४७९ जना प्राविधिक कर्मचारी राखिएकोमा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र थियो । ती कर्मचारीलाई अर्को ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जनाए ।
यस्तै, प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकोमा पचास प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था मन्त्रिपरिषदले गरेको उनले जनाए । त्यस्तो कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।