हेटौंडा:कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार २९ गते बसेको पहिलो बैठकले कोभिड-१९ विरुद्धको खोप अभियान समुदाय तहसम्म पुर्याउने निर्णय गरेको हो।
समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन र समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।
कोभिड-१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई
अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने भएको छ। बैठकपछि स्वास्थ्यमन्त्री नीमा लामाले भने।
बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएको छ त्यसैले खोप अभियानमा जनप्रतिनिधिको पहल आवश्यक देखिएको उनको भनाइ रहेको छ।
लामाले भने:यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने छ।
कोरोना संक्रमणदर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने‚ गराउने र २५ जनाभन्दा बढी सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिक स्थलमा हुने नियमित पूजाबाहेकका गतिविधि नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियलाई प्रोत्साहन गर्ने र फ्रन्टलाइनमा रहेका व्यक्तिलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्देशक समितिले निर्णय गरेको छ।
बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि निजी क्षेत्रसहित सबै पक्षसँग सहकार्य गर्ने पनि निर्णय गरेको छ।