काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ। बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताए ।
‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन,’ महानिर्देशक श्रेष्ठले भने, ‘तर इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या पनि निकाल्न सकेका छौं। तथ्यांकमा समावेश भएको छ।’ अहिले पालिकागत जनसंख्यामात्र सार्वजनिक गरिने भएकाले अन्तिम नतिजामा मात्र समेटिने उनले जनाए।विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब ६ सय रहेको छ। २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभाग जनगणना हुन सकेको छैन।
अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ। उतिखेरको जनगणनामा डोटी, बैतडी र डडेलधुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या १ हजार ५ सयजनाको हाराहारीमा थियो। त्यो जनगणनाले नेपालको कुल जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ जना देखाएको थियो। तर, केन्द्रीय तथ्यांक विभागमा उतिखेर लिइएको जनगणनाको खण्डिकृत तथ्यांकको रेकर्ड भेटिएको छैन।