Khabar Board
Flash logo up side
flash header

कैलालीको कान्जी हाउसका गाई–गोरु छाड्दा बाली नोक्सान

Nirbachan m

कैलाली । कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन्। कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो।

“मेरो चार बिघा लगाएको गहुँ पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भने, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहुँ बाली नास भएको छ।” उनले कान्जी हाउसका गाई–गोरुले किसानको बाली अघाउञ्जेल खाएको बताए।

जानकी गाउँपालिकाको पाँच लाख सहयोगमा छाडा गाई–गोरु हुल्ने योजनाअनुसार सुवर्णपुरमा करिब एक महिनाअघि कान्जी हाउस निर्माण गरिएको हो। कान्जी हाउसमा टीकापुर, जोशीपुरदेखिका छाडा गाई–गोरु ल्याएर राखिएको थियो। स्थानीयवासीको भनाइअनुसार कान्जी हाउसमा करिब ८०० छाडा गाई–गोरु राखिएका थिए। यसरी खुल्ला अकाशमा निर्माण गरिएको कान्जी हाउसमा दैनिक गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए।

कान्जी हाउसमा जाडो र भोकले गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले वातावरण दुर्घन्धित भएको भन्दै विरोध गरेका थिए। स्थानीयले विरोध गर्न थालेपछि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खुला गरिएको हो। कान्जी हाउसमा राखिएका गाई–गोरु कसले खुला गर्यो भन्नेबारेमा आपसमा आरोप–प्रत्यारोसमेत चलेको छ।

स्थानीयवासीले कान्जी हाउस अन्यत्र सार्न वडा नम्बर ६ का वडाध्यक्ष झनक विश्वकर्मा र गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। कान्जी हाउस निर्माणका लागि गाउँपालिकाले पाँच लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बताए। “छाडा गाई–गोरुलाई नियन्त्रण गर्न कान्जी हाउसमा लगानी गर्यौँ, तर सफल भएन, के गर्ने यस्तै हो”, उनले भने।

Center article

गाउँपालिकाले तारबारका लागि खर्च गरे पनि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खाने व्यबस्था थिएन। “जाडो मौसममा खुला आकाशमा गाईगोरु राख्दा मर्ने निश्चित हो, बिनायोजना काम गरेपछि यस्तै हुन्छ”, वडा नम्बर ३ का वडाध्यक्ष प्रदीप शाहले भने, “खुलामा गाई–गोरु हुल्नु भनेकै मार्नका लागि हो।”

स्थानीय बासिन्दा योजना बनाएर गाईवस्तु व्यवस्थापन कार्य सुरु गरेको भए यो समस्या नआउने बताउँछन्। “अन्य पालिकाका गाईगोरुसमेत ल्याएर यही हुलियो, अनि एक महिनामै छाडेपछि, भोका गाईवस्तुका बथान बस्तीमा पसेमा खेती रहन्छ त ”, स्थानीय हरि चौधरीले भने, “खेतीपाती एकनासले सखाप पारे, यसरी मेहेनत र लगानी गरेर लगाएको खेती नोक्सान गर्ने अधिकार कसलाई छ ? अब यसको जिम्मा स्थानीय सरकारले लिनुपर्छ।”

स्थानीयवासीले गाईगोरुले नोक्सान गरेको खेतीको क्षतिपूर्ति स्थानीय पालिका र वनले दिनुपर्ने माग गरेका छन्। “लाखौँ खर्च गरेर बाला लाग्ने समय भएको गहुँ र मसुरो पशुले खाएर सके”, चौधरी भन्छन्, “हामीले क्षतिको राहत नपाए भोकमरी हुन्छ।” कैलालीमा छाडा पशु चौपाया सबै स्थानीय पालिकाको समस्या बनेको छ। यहाँका जनप्रतिनिधिले छाडा पशु व्यवस्थापन गर्छौँ भने पनि कसैले व्यवस्थापनमा काम गर्न सकेको देखिँदैन।

पशु व्यवस्थापनमा पालिकाले गरेका खर्च सुदपयोग हुन नसकेको टीकापुरकी योजना अधिकारी बताइन्। “गाईले दूध दिन्छ, गाईको गहुँत पनि हामी किनेर खान्छौँ, तर त्यही गाई छाडा छोडिएका छन्”, अधिकारीले भनिन्, “सरकारले व्यवस्थित गरेर पाल्न सकेको भए आम्दानी पनि लिन सकिन्थ्यो।” रासस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.