काठमाण्डाैं । लामाे समयकाे पर्खाईपछि एउटा लघुवित्तकाे आईपीओ आउने भएकाे छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखी सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ जसमध्य चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारण लागि हो ।
आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्र्त देखिन्छ ।
लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।