काठमाण्डाैं
होली रङको पर्व हो। यो दिन विभिन्न किसिमका रङ एक आपसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होलीलगत्तै छालाका विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।
बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनूका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ।
होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ। छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ। यसो गर्नाले छालामा रसायनिक प्रभाव कम हुने हुन्छ।
प्रत्यक्ष रूपमा गर्ने असर
रङमा रसायन मिसिने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा अझैं बढेर जान्छ। रङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्न सक्छ। कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।
अप्रत्यक्ष रूपमा गर्ने असर
छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ। छाला पोल्ने,दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ। कपालमा रङ लगाउँदा पछि कपालझर्ने समस्या देखापर्छ। नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ। रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।
होली खेल्नु अघि यी कुरामा ध्यान दिनुहाेस्
आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नु भन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यास्लिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्नेगरी खुकुलो कपडा लगाउनुपर्छ। शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ। सकेसम्म कम रसायन मिसिएको रङ छनोट गर्नुपर्छ।
होली खेलेपछि के गर्ने?
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ। होली खेलिसकेपछि शरीरमा लागेको रङ हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउने। नुहाउँदा रङ लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्ने। त्यसपछि केही समय राखी सुक्न दिने र सुकेपछि सफापानीले पखाल्ने। यसले शरीरमा लागेको रङलाई हटाउ मद्दत गर्छ। फेसवासले अनुहार धुने पनि गर्न सकिन्छ। अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ। हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ।