काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएएनजी) ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनायो ।
उसका लागि कप्तान असद भालाले ४५, चाड सोपरले अविजित २२, लेगा सियाकले २०, सेसे बाउले १९, नर्मन भानुले १८, काबुवा मोरियाले नटआउट १७ र चार्ल्स अमिनीले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २९ रन दिएर २ विकेट लिए । त्यस्तै, सोमपाल कामीले १० ओभरमा एक मेडनसहित ३७ रन दिएर २ विकेट नै हात पारे । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र करण केसीले एक/एक विकेट बाँडे ।
आज सबैभन्दा किफायती बलिङ आरिफले गरे । उनले १० ओभरमा एक मेडनसहित २१ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन् । अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोब टिममा छैनन् ।
यूएईमा भइरहेको सिरिजको सुरुवाती तीनमध्ये नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित निकालेको थियो । त्यसपछिका दुवै खेलमा नेपाललाई यूएईले हरायो ।
खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । लिग–२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ । यूएई अंक तालिकामा दोस्रो स्थानमा छ । उसले १८ खेलबाट २२ अंक जोडेको छ ।
तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ । चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौं स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ । छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्यूगिनीले १५ खेलबाट २ अंक जोडेको छ ।













