काठमाण्डाैं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ९ लाख ४० हजार ४६६ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। फाइनान्सले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।
फाइनान्सले संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि लगानीकर्ताले चैत २९ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनत मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक शेयरमा न्युनतम १००० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। सो शेयर खरिद गर्न लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंक अफ काठमाण्डूको विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौँ, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।