काठमाण्डाैं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.७३ प्रतिशत बढेको छ।
खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७३ पैसा घटेर ४ रुपैयाँ २९ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७३.७ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ३४.७४ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप तथा सापटी २९.३२ प्रतिशत बढेको छ भने कर्जा ६३.२७ प्रतिशत बढेको छ।