काठमाडौं । यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ । युरोपियन फुटबल महासङ्घको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता युरोपा लिग जित्ने क्रममा एटलान्टाले जर्मन च्याम्पियन बायर लेभरकुजेनलाई पराजित गर्यो।
बुधबार राति सम्पन्न युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएसँगै लेभरकुजेनको अपराजित यात्रा अन्त्य भएको हो। अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । उनले खेलको १२, २६ र ७५ मिनेटमा गोल गरेका थिए।
एटलान्टाले ६१ वर्षमा पहिलो मुख्य उपाधिको जित्न सफल भएको हो। बुधबार राति भएको फाइनल खेलमा एटलान्टा ३-० गोलले विजयी भयो।यता हारसँगै लेभरकुजेनको ५१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो । २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो । जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ ।
यो सिजन लिभरकुसेनले युरोपको शीर्ष ५ लिगमा सबैभन्दा लामोसमय सम्म अपराजित रहने युभेन्टसको ४३ खेलको कीर्तिमान तोडेको थियो ।
यस्तै ९ मे २०२४ मा, लिभरकुसेनले युरोपा लिगमा रोमासँग २–२ गोलको बराबरी खेलेपछि युरोपेली फुटबल इतिहासमा (युईएफए क्लब प्रतियोगिताहरू सुरु भएदेखि) हारबिनाकै सबैभन्दा लामो समयसम्म खेल खेल्ने नयाँ कीर्तिमान कायम गरेको थियो ।
१९६३ र १९६५ बीचमा बेन्फिकाले राखेको ४८ खेलको अघिल्लो कीर्तिमान तोडे । लिभरकुसेनले त्यसपछि लिग सिजन अपराजित रहँदै सकाए । लिभरकुसेन बुन्डेसलिगामा अपराजित रहँदै च्याम्पियन बन्ने पहिलो क्लब बन्यो ।

















