काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । उनले पछिल्लो मतपरिणाम अनुसार ११ हजार ८१५ मत प्राप्त गरेका छन् । बालेनले सुरुवातदेखि नै अग्रता लिएका हुन् ।
उनले अहिले पनि गणना भइरहेका वडामा अग्रता कायमै राखेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ३१९ मत ल्याएका छन् । बालेन स्थापितभन्दा ५ हजार ४९६ मतले अगाडि छन् ।
स्थापितलाई पछ्याइरहेकी गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले ५ हजार ५२५ मत ल्याएकी छन् । उनी र स्थापितबीचको मतान्तर ७९४ रहेको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनले अहिलेसम्म ६६३६ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ६४२३ मत ल्याएका छन् । तेस्रोमा रहेका जगन्नाथ पौडेलले ३२३७ मत प्राप्त गरेका छन् ।

















