हेटौंडा / जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ को अवसरमा विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार दिउँसो २ बजेदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजय गोपाली रहेका थिए। कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो।
अभिमुखीकरण सत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरकी संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए।
उनीहरूले विद्यार्थीहरूलाई सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने उपाय, गोपनीयता सुरक्षा र अपराधजन्य व्यवहारबाट जोगिने तरिका बारे व्यवहारिक जानकारी प्रदान गरे।
कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा साइबर अपराधसम्बन्धी विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहाँ र कसरी उजुरी दिने भन्ने विषयमा पनि विस्तृत जानकारी दिइएको थियो।
जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सचेतना अभिवृद्धि गर्न मद्दत पुर्याएको छ।
‘जेसीज सप्ताह–२०२५’ का लागि सन्तोष पराजुली मूल कार्यक्रम संयोजक र किरण आले सह–मूल कार्यक्रम संयोजक रहेका छन्।














