स्थायित्व र विकासको एजेन्डा लिएर एमाले उम्मेदवार रामेश्वर रानाको चुनावी रणनीति

Image

हेटौंडा/ आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रामेश्वर राना ले हेटौंडा मा आयोजना गरेका पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी कार्ययोजना नयाँ कोणबाट सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा उनले यस वर्ष हुने निर्वाचनलाई सामान्य प्रक्रियाभन्दा बढी, देशको दिशा निर्धारण गर्ने संवेदनशील मोडका रूपमा चित्रित गरे। रानाले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रत्याभूति र विकासको ढाँचा निर्माणमा नेकपा एमाले ले खेलेको दीर्घ भूमिका मकवानपुरका जनताले स्पष्ट रूपमै अनुभूत गरेको बताए।

रानाका अनुसार मकवानपुर मा सडक, स्वास्थ्य, शिक्षा, खानेपानीदेखि कृषि तथा पर्यटनसम्मका क्षेत्रमा भएको प्रगति एमाले नेतृत्वका विभिन्न तहमा समन्वित रूपमा अघि बढेको प्रमाणित गरेका छन्। उनले चुनावलाई “समृद्धि र स्थायित्वतर्फको यात्रा जारी राख्ने कि पुनः अव्यवस्था र अनिश्चिततामा फर्कने” निर्णायक मोडका रूपमा पेश गरे।

सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिने प्रवृत्तिले युवालाई दिग्भ्रमित बनाउन खोजिएको भन्दै उनले मुलुकलाई संकटमा धकेल्ने प्रयास सचेत रूपमा रोक्नुपर्ने उल्लेख गरे। देशको जटिल चरणमा जिम्मेवार नेतृत्व अपरिहार्य रहेको भन्दै उनले मतदातालाई दीगो विकास रोज्न आग्रह गरे।

रानाले सार्वजनिक गरेको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको दृढ रक्षा, वैदेशिक हस्तक्षेपको अन्त्य, संविधानको प्रभावकारी कार्यान्वयन, शान्ति–सुरक्षाको सुदृढीकरण र सुशासन स्थापना प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएका छन्। रोकिएका सडक, खानेपानी, सिँचाइ, विद्युत, स्वास्थ्य र शिक्षा पूर्वाधारलाई द्रुतगतिमा पूरा गर्ने योजना उनले अघि सारे।

युवालाई प्राविधिक र सीपमूलक तालिममार्फत रोजगारी सिर्जना, कृषि व्यवसायीकरणमार्फत खाद्य आत्मनिर्भरता, हेटौंडा औद्योगिक क्षेत्र को विस्तार तथा मयुरधाप औद्योगिक क्षेत्र विकासलाई तीव्रता दिने लक्ष्य उनले दोहो¥याए।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने, पुराना बजारलाई आधुनिक स्वरूप दिने र ग्रामीण क्षेत्रमा नयाँ बजार केन्द्र विकास गर्ने योजनासमेत जोडिए। स्वास्थ्य बीमा सेवा सुधार गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको क्षमता विस्तार गर्ने प्रस्ताव पनि उनले उजागर गरे।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय तथा क्याम्पसका भौतिक पूर्वाधार आधुनिकीकरण, प्रविधिमैत्री शिक्षाको सुनिश्चितता, जातीय–सांस्कृतिक विविधताको संरक्षण तथा मकवानपुरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उन्नत गर्ने दृष्टि उनले प्रस्तुत गरे।

पत्रकार सम्मेलनको अन्त्यमा रानाले क्षेत्र नम्बर–१ का मतदातालाई सूर्य चिन्हमार्फत आफूलाई समर्थन गरेर ‘स्थायित्व र समृद्धिको यात्रा’लाई बलियो बनाउन अपिल गरे।