मकवानपुरका दुवै क्षेत्रमा मतदान सामग्री समयमै पुग्यो, मतदान स्थल तयारी अन्तिम चरणमा

Image

हेटौंडा/ आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा प्रशासनिक तथा सुरक्षात्मक तयारी पूर्णरूपमा सम्पन्न भएको छ। दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा आवश्यक सामग्री तोकिएको समयमै पु-याइएपछि मतदान प्रक्रिया सहज हुने विश्वास गरिएको छ।

बागमती प्रदेशस्तरिय तयारीको अनुगमन गरिरहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा का प्रमुख हरि प्रसाद ढकाल का अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, स्याही, स्ट्याम्प प्याड तथा सुरक्षात्मक सामग्रीदेखि निर्देशन पुस्तिकासम्म सबै आवश्यक सामग्री सम्बन्धित मतदान अधिकृत र सहायक अधिकृतका हातमा पुगेका छन्। सर्वदलीय बैठकपछि मतदान बूथ निर्माण र स्थल व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेको उनले बताए।

दुर्गम तथा ग्रामीण क्षेत्रका मतदान केन्द्रमा सामग्री ढुवानी जटिल नबनोस् भनेर विशेष सवारी साधनको व्यवस्था गरिएको थियो।
समयमै वितरण सुनिश्चित गर्दै प्रशासनले बितरण प्रक्रिया सहज बनाउन अतिरिक्त जनशक्ति पनि प्रयोग गरेको बताइएको छ।

सुरक्षा व्यवस्थापनतर्फ मकवानपुरको जिल्ला सुरक्षा समितिले सबै मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाएको छ। संवेदनशील तथा अति संवेदनशील मतदान स्थलमा थप संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोली क्षेत्रगत नक्सांकनअनुसार खटाइएको छ।

मतदान अधिकृत, सहायक अधिकृत र सहयोगी कर्मचारी गरी प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले जनशक्ति तैनाथ गरिएको छ। सामग्री हातमा लिएर सबै टोली तोकिएका मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन्।

स्थानीय प्रशासनले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउने लक्ष्यसहित आचारसंहिता कडाइका साथ कार्यान्वयनमा रहेको जनाइएको छ।