थाहा नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता नगर प्रमुख बिष्ट द्वारा उद्घाटन

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा विद्यालयस्तरीय खेलकुदको ठूलो उत्सव सुरु भएको छ। आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा नगरभित्रका १७ विद्यालयका १३१८ जना विद्यार्थी सहभागी हुँदा सम्पूर्ण नगरपालिका खेलमय बनेको छ।

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण मावि खेलमैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सञ्चालन भइरहेको हो। कार्यक्रमको उद्घाटन नगर प्रमुख बिष्णु बिष्ट ले गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बिष्टले खेलकुदलाई नगरको पहिचान बनाउने आधार भएको उल्लेख गर्दै बजेट अभावका कारण अपेक्षित लगानी हुन नसकेको स्वीकार गर्नुभयो। “सीमित बजेटका बाबजुद पनि प्रतियोगिता सफल रूपमा सञ्चालन गर्न खटिनुभएको आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो, “अब खेलकुदमा लगानी बढाएर विद्यार्थीको प्रतिभा उजागर गर्ने वातावरण बनाइनेछ।”

प्रतियोगितामा ट्र्याक तथा फिल्ड, भलिबल, कबड्डी, कराते, मार्चपासलगायत १८ विधा समावेश गरिएको छ। दौडतर्फ १०० मिटरदेखि ३००० मिटरसम्मका स्पर्धा, हाईजम्प, लङ जम्प, त्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो जस्ता खेलहरू सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनु, प्रतिभाको पहिचान गर्नु र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्नु हो।

पुरस्कार संरचनाअनुसार राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने विद्यालयले रु २० हजार, द्वितीयले रु १५ हजार, तृतीयले रु १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

मेयर कप भलिबलमा प्रथमलाई रु २० हजार र द्वितीयलाई रु १५ हजार तथा कबड्डीमा प्रथमलाई रु १० हजार र द्वितीयलाई रु ६ हजार पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ।