मकवानपुरमा २ किलो लागूऔषधसहित दुई जना पक्राउ

Image

हेटौंडा/ मकवानपुरको हेटौडामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मकवानपुरमा २ किलो अफिम जस्तै देखिने प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साल माघ २३ गते दिउँसो करिब १ बजे ३० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकखण्डमा ना.४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकल चढेर आएका दुई जनालाई शंका लागेर रोकेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका–४ का २८ वर्षीय रबिन्द्र सिन्तान र ३६ वर्षीय रामबहादुर डिम्डुङको साथबाट अफिम जस्तै देखिने २ किलो प्रतिबन्धित पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले फेला परेका लागूऔषध तथा मोटरसाइकल बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।