स्थानीय समृद्धिको नयाँ एजेन्डासहित थाहा नगर उद्योग वाणिज्य संघको १०औँ साधारणसभा सम्पन्न

Image

हेटौंडा/ मकवानपुरको थाहा नगर उद्योग वाणिज्य संघको १०औँ वार्षिक साधारणसभा शनिबार पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ। उद्योगी–व्यवसायी, सहकारी प्रतिनिधि तथा राजनीतिक दलका नेताको उल्लेखनीय उपस्थितिमा सम्पन्न सभाले आगामी वर्षका लागि संघको नयाँ रणनीतिक नीति सार्वजनिक गरेको छ।

कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष पुरुषोत्तम ढकालले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा थाहा नगरपालिका प्रमुख विष्णु विष्ट उपस्थित रहनुभयो। नेकपा (एमाले)का सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेसका नवराज कार्की, महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष कविराज खत्री, सदस्य जीवनकाजी माकजु लगायतका वक्ताहरूले संघको भूमिकाको प्रशंसा गर्दै स्थानीय उत्पादन प्रवर्द्धन, उद्यमशीलता विस्तार र लगानीमैत्री वातावरण निर्माणमा संघले अझ सक्रिय हुनुपर्नेमा जोड दिए।

महासचिव जर्म श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संघले विगत वर्ष सञ्चालन गरेको सीपमूलक तालिम, बजार व्यवस्थापन, करसम्बन्धी परामर्श तथा समन्वय कार्यक्रमहरूको समीक्षा गरिएको थियो। कोषाध्यक्ष प्रदीप प्रधानले संघको आर्थिक अवस्था सन्तोषजनक रहेको बताएपछि प्रतिवेदन सर्वसम्मत पारित गरियो।

सभाध्यक्ष ढकालले व्यवसायमैत्री वातावरण, कृषि–उद्योग–पर्यटनको एकीकृत विकास, प्रविधिमैत्री सीप अभिवृद्धि र स्थानीय उत्पादनलाई बजारमा स्थापित गर्ने लक्ष्य संघको प्रमुख प्राथमिकता हुने बताए।
प्रमुख अतिथि विष्णु विष्टले नगरपालिका र उद्योग वाणिज्य संघबीच सहकार्य सुदृढ गर्दै थाहा नगरलाई स्थायी आर्थिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

अन्त्यमा वरिष्ठ उपाध्यक्ष शम्भु सी. कार्कीले धन्यवाद ज्ञापन गर्दै संघलाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यमैत्री रूपमा अघि बढाउने घोषणा गरे।