हेटौंडा/ सेवा सहयोग आवाज हामि का अध्यक्ष बिशाल राज महत तथा समाजिक अभियान्ता लेख्नु हुन्छ जसले आप कहिल्यै खाएकै छैन, उसले आपबारे पीएचडी नै गर्ला, हजार पानाको किताब लेख्ला, गहिरो व्याख्या पनि गर्ला। तर उसलाई आप कति मिठो हुन्छ भन्ने अनुभूति कहिल्यै हुँदैन। अनुभवविनाको ज्ञान कागजमा मात्र मीठो देखिन्छ, जिब्रोले चाख्दैन।
ठीक त्यसैगरी, सामाजिक भावनामा ओतप्रोत नभएका, जनताको दुःख–सुख नछोएका मानिसहरू मिठा र चिल्ला गफ गर्न सिपालु हुन्छन्। ताली पिट्ने भाषण त गर्लान्, शब्दहरू गुञ्जिने पनि गर्लान्, तर ती शब्द जनताको जीवनसम्म पुग्दैनन्। ती केवल कानमै घुम्छन् र समयसँगै हराउँछन्।
आधुनिक, सुविधायुक्त, महँगो गाडी हुनु मात्र पर्याप्त हुँदैन। गाडी जति चम्किलो भए पनि चालक सही नभए गन्तव्य होइन, दुर्घटनातिर नै लैजान्छ। त्यसैले गाडी चढ्नु अघि यसको रङ, चमक र सुविधा मात्र होइन चालकको नियत, अनुभव र जिम्मेवारी बुझ्नुपर्छ। नत्र, गन्तव्यको सपना देख्दै चढिएको गाडी अन्तत दुर्घटनाको समाचार मात्र बन्नेछ।
यही कारणले मतदानको महत्व बुझ्न जरुरी छ। अरूको ट्याग, झन्डा वा खोलमा होइन आफ्नै कर्म गरेर जनताको झोला बोकेका, जनताको बोझ आफ्नै काँधमा उठाएका मानिसलाई हेर्नुहोस्। “अरूको कट्टु राम्रो छ, म पनि त्यही कट्टु हो” भन्ने नक्कली पहिचान बोकेकाहरूलाई चुन्ने गल्ती अब नगरौँ। पछि टाउकोमा हात राखेर पछुताउने समय फेरि फर्केर आउँदैन।
अब हाम्रो भावना र भविष्यसँग खेल्ने छुट कसैलाई छैन। भित्रबाट स्याल भएर बाहिर बाघको खोल ओढेका पात्रहरू चिन्न सिकौँ। तिनैलाई बोकेर जनता ढाँट्ने, भ्रम बेच्ने मतियारहरूलाई पनि छुट्याउन सक्ने चेतना विकास गरौँ।
किनकि सही चालक नछान्दा दुर्घटना हुन्छ,
र गलत प्रतिनिधि चुन्दा पूरै देश नै दुर्घटनामा पर्छ।












