आफ्नो उम्मेदवारीले मकवानपुरे जनता खुसी छन्: रामेश्वर राना

Image

हेटौंडा/ आफ्नो उम्मेदवारीले मकवानपुरका जनता खुसी रहेको उम्मेदवार रामेश्वर रानाले बताउनुभएको छ।

हेटौँडामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार रानाले एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै मुलुकलाई संकटबाट निकाल्न र विकास–समृद्धिको बाटोमा अघि बढाउन एमालेको जीत मात्रै विकल्प रहेको धारणा व्यक्त गर्नुभयो।

विचलित र अनिश्चित नबनिन सबैलाई आग्रह गर्दै उहाँले निर्धक्क रूपमा निर्वाचनमा जुट्न आग्रह गर्नुभयो। भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गतेको निर्वाचन राष्ट्रियता विरोधी शक्ति र राष्ट्रिय स्वाभिमानको पक्षबीचको प्रतिस्पर्धा भएको भन्दै स्वाभिमानको रक्षा गर्न एमालेलाई जिताउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। अब बन्ने संसदले देशलाई निकास दिन नसके संविधान र लोकतन्त्र मात्र होइन, राष्ट्रियता नै संकटमा पर्ने उहाँको भनाइ थियो।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले विधिसम्मत रूपमा निर्वाचन जितेर बहुमतसहित सरकार सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै मकवानपुरमा पार्टीको विगतको पहिचान जोगाउँदै चुनावी तयारीमा जुट्न आग्रह गर्नुभयो।

भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा हेटौँडा उपमहानगरपालिकाका दलका नेता नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्यहरू फुर्वा दोर्जे घिसिङ, गणेशकुमारी श्रेष्ठ, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको जानकारी जिल्ला उपसचिव तथा दलका सचिव फुर्वा दोर्जे लामाले दिनुभयो।