हेटौंडा/ मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट प्रशान्त उप्रेती विजयी भएसँगै नयाँ पुस्ताको राजनीतिक प्रवेशले चर्चा पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेतीले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो स्थानमा रहे। यस निर्वाचन क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब तीन दशकभन्दा बढी समयदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ सालपछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा अन्य कम्युनिस्ट दलका उम्मेदवारहरू विजयी हुँदै आएका थिए। पछिल्लो नेपाल प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि एमालेका महेशकुमार बर्तौला निर्वाचित भएका थिए।
२५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सम्भावित सबैभन्दा कान्छा सांसद बन्ने चर्चा छ। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसायमा संलग्न रहँदै आएका थिए। साथै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ।
मकवानपुर–२ का मतदातामाझ अपेक्षाकृत नयाँ अनुहार भए पनि हेटौँडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबाट प्राप्त मतले उप्रेतीलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। उनको विजयलाई यस क्षेत्रमा नयाँ राजनीतिक धारको संकेतका रूपमा पनि हेरिएको छ।


















