राष्ट्रिय महिला भलिबल, जनशक्तिलाई हराउँदै न्यु डाइमण्ड फाइनलमा

Image

हेटौंडा / हेटौंडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा काठमाडौँको न्यू डाइमण्ड स्पोर्ट्स क्लब प्रवेश गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१०, स्थित चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगताको सेमिफाइनल खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई ३-० काे सोझो सेटले पराजित गर्दै काठमाडौँको न्यु डाइमण्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको आफ्नो पहिलो सेमीफाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५-१०,२५-१४ र २५-१८ को सेटले पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पा र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मिति प्रतिष्ठानबीचको सेमीफाइनल खेल वर्षाको कारणले प्रभावित बनेको छ । उक्त खेल भोलि बिहान ८ बजे हुने र फाइनल खेल दिउसो १ बजे हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् ।

समूह चरणको दुई खेल खेलेको न्यु डाइमण्ड क्लबले समूह ए बाट विजेता बन्दै सेमीफाइनलको यात्रा पुरा गरेको थियो भने समूह चरणको २ खेल खेलेको जनशक्ति युवा क्लबले समूह बी बाट उपविजेता सेमिफाइनलको यात्रा पूरा गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।

मकवानपुर जिल्ला भलिबल सङ्घ र केशव लाल श्रेष्ठ स्मृती प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो । बुधबारदेखि शुक्रबारसम्म भने पहिलो संस्करणको खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।